काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको आन्तरिक विवाद तीव्र बन्दै गएपछि पार्टी फुटको संघारमा पुगेको छ ।
संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच नेतृत्व कसले लिने भन्ने विषयमा देखिएको अन्तरसंघर्षले पार्टी दुई पक्षमा विभाजनको अवस्थामा पुगेको हो । श्रीमान–श्रीमती दुवैको आन्तरिक विवाद सतहमा आएपछि नेता–कार्यकर्ता समेत चौधरी पक्ष र श्रेष्ठ पक्षमा विभाजित भएर उभिन थालेका छन् ।
अध्यक्ष श्रेष्ठले पार्टीलाई आफू अनुकूल चलाउन थालेपछि विवाद उत्कर्षमा पुगेको बताइन्छ । सुरुमा चौधरीले श्रेष्ठलाई अध्यक्ष बनाएर निर्वाचन आयोग पठाएका थिए । आयोगले मान्यता नदिएपछि उनले आफ्ना बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाउन बहुमत भेलाको निर्णयसहित आयोगमा पठाएका थिए । तर आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षका रूपमा मान्यता दिएपछि विवाद चर्किएको हो ।
चौधरी निकट नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको शक्तिमा श्रेष्ठलाई अध्यक्ष पुनर्बहाली गरिएको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन आयोगको निर्णयमा सत्ता र दलीय प्रभाव स्पष्ट देखिएको दाबी गर्दै आलोचना गरेका छन् ।
यस क्रममा चौधरीले अध्यक्ष श्रेष्ठलाई मान्न नसकिने भन्दै पार्टी नेतृत्व परिवर्तनको गृहकार्य अघि बढाएको बताएका छन् । आफू राजनीतिमा आउनै नचाहँदा पनि परिस्थितिले ल्याएको जिकिर गर्दै चौधरीले पार्टीलाई परिवारवादमा होइन, स्थापना कालीन मुद्दा र एजेन्डामा उभ्याउन खोजेको दाबी गरेका छन् ।
श्रीमान–श्रीमतीबीचको विवादले पार्टीलाई ठूलो क्षति पुगेको भन्दै कतिपयले नाउपाको भविष्य अन्योलमा परेको टिप्पणी गरेका छन् ।
भिडियाे सामाग्री