काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले जंगीअड्डामा गएर प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गरेका छन् । भेटको अवसरमा सैनिक मुख्यालयमा सामग्री हस्तान्तरण कार्यक्रम पनि आयोजना गरिएको थियो ।
नेपालस्थित भारतीय दूतावासका अनुसार सो अवसरमा ‘लाइट स्ट्राइक’ सवारीसाधन, अत्यावश्यक उपचारका लागि प्रयोग हुने उपकरण र सैनिक जनावरहरू हस्तान्तरण गरिएको छ। हस्तान्तरणमा ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोट तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा प्रयोग हुने २ वटा कुकर रहेका छन् ।
दूतावासले भनेको छ, “यी सामग्रीहरूको हस्तान्तरणले दुवै सेनाबीचको घनिष्ठ सम्बन्ध र हाम्रो द्रढ रक्षा सहयोगलाई प्रतिबिम्बित गर्दछ । यसले आपसी विश्वास र साझेदारीको भावना झल्काउँछ, जुन हाम्रो दीर्घकालीन सम्बन्धको विशेषता रहँदै आएको छ ।”
मिस्री आइतबार नेपाल भ्रमणमा आएका थिए र आज स्वदेश फर्किनेछन् ।

भिडियाे सामाग्री