काठमाडौं । व्यवसायी तथा राजावादी तथा जनकमान्डर अभियानका संस्थापक दुर्गा प्रसाईंले तीनकुनेमा चैत १५ गते भएको घटनाभन्दा अघिल्लो दिन नै आफूलाई हत्या गर्ने योजना बनेको सूचना प्राप्त भएको दाबी गरेका छन् । लामो समय थुनामा बसेर बाहिरिएका उनी सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् ।
उहाँले भने, “अघिल्लै दिन मलाई सूचना आएको थियो—त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्। त्यसपछि मैले प्रहरीसँग सुरक्षा मागेको थिएँ ।”
प्रसाईं नेतृत्वमा सञ्चालन गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले चैत १५ मा आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए । त्यतिबेला सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। त्यसलगत्तै प्रहरीले प्रसाईंसहित ६१ जनामाथि कर्तव्य ज्यान, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो ।
जेठ ३० गते काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने ३२ जनालाई धरौटीमा र बाँकीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको थियो। यतिबेला प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा अन्य आर्थिक अनियमितताबारे पनि अनुसन्धान भइरहेको छ । तीनकुने घटनापछि फरार रहेका उनलाई चैत २८ गते भारतको असाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
पत्रकार सम्मेलनमा प्रसाईंले आफूलाई योजनाबद्ध रूपमा फसाइएको आरोप लगाउँदै हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गरे । उनले भने, “यो सब योजनाबद्ध षड्यन्त्र हो। प्रहरीमाथि पहिले नै ढुंगामुढा भइरहेको थियो, त्यसपछि अवस्था नियन्त्रण बाहिर गएको हो। मलाई जबर्जस्ती दोषी ठहराउने प्रयास भइरहेको छ ।”
भिडियाे सामाग्री