राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ले पार्टीको आधिकारिक निर्णयअघि नै उम्मेदवारीको टिकट निश्चित भएको भन्दै झुटो आश्वासन दिने तथा व्यक्तिगत स्वार्थका लागि पार्टीको नाम प्रयोग गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएको छ।
पार्टीका क्षेत्रीय सभापति फैयाज मियाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधि, विधान, अनुशासन र संगठनात्मक मर्यादाविपरीतका गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
विज्ञप्तिमा ‘मेयर बनाइदिन्छु’, ‘वडाध्यक्ष बनाइदिन्छु’, ‘टिकट निश्चित भइसकेको छ’ वा ‘टिकट फिक्स गरिसकेको छु’ भन्दै नेता, कार्यकर्ता तथा सम्भावित उम्मेदवारलाई भ्रममा पार्ने कार्य नगर्न चेतावनी दिइएको छ। पार्टीको उम्मेदवारीसम्बन्धी निर्णय आधिकारिक विधि, विधान र प्रक्रियाअनुसार मात्रै हुने जनाइएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे प्रमाणसहित जानकारी प्राप्त भएमा पार्टीको सम्बन्धित अनुशासन निकायमा औपचारिक उजुरी दिई आवश्यक कारबाहीका लागि सिफारिस गरिने विज्ञप्तिमा उल्लेख छ।
रास्वपा कुनै व्यक्तिको निजी सम्पत्ति वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नभएको उल्लेख गर्दै पार्टीले सामूहिक निर्णय, पारदर्शिता, विधि र जनताको भावनाअनुसार संगठन सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।
पार्टी निर्माणमा सुरुदेखि योगदान दिँदै आएका नेता तथा कार्यकर्ताको त्याग, संघर्ष, मेहनत र समर्पणको सम्मान गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। संगठन निर्माणमा लामो समयदेखि सक्रिय कार्यकर्ताको योगदान, क्षमता र इमानदारीलाई बेवास्ता गर्दै निर्वाचन नजिकिएपछि पद वा टिकटको अपेक्षासहित पार्टी प्रवेश गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने पार्टीको धारणा छ।
यद्यपि, नयाँ व्यक्तिका लागि पार्टीको ढोका बन्द नरहेको स्पष्ट पार्दै रास्वपाले इमानदार, योग्य, सक्षम र देश निर्माणमा समर्पित व्यक्तिलाई स्वागत गरिने जनाएको छ। पार्टीमा प्रवेश गर्ने व्यक्तिको मूल्याङ्कन व्यक्तिगत सम्बन्ध वा टिकटको आश्वासनका आधारमा नभई विगतको योगदान, वर्तमान प्रतिबद्धता, कार्यक्षमता, नैतिकता र पार्टीको सिद्धान्तप्रतिको निष्ठाका आधारमा हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
विगतका संसदीय निर्वाचनमा उम्मेदवार छनोट तथा टिकट वितरणका क्रममा अपेक्षित विधि र प्रक्रियाको पूर्ण पालना नभएको विषयमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकतासमेत विज्ञप्तिमा औँल्याइएको छ। विगतका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीभित्रको पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।
‘पार्टी विधि र विधानले चल्ने हो, व्यक्तिगत स्वार्थले होइन। पदभन्दा सेवा ठूलो हो, टिकटभन्दा योगदान ठूलो हो र व्यक्तिभन्दा पार्टीको सिद्धान्त ठूलो हो,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपा पर्सा–२ ले नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको विधि, विधान र अनुशासन पालना गर्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ।