इजरायली सेनाले गाजा शहरलाई नियन्त्रणमा लिने योजनाअनुसार कारबाही सुरु गरेको छ । सेनाका अनुसार हाल गाजा शहरको बाहिरी क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरिएको छ। यसअघि नै जैतुन र जबालिया क्षेत्रमा सैनिक तैनाथ गरिसकिएको थियो ।
मंगलबार इजरायली रक्षामन्त्री इजरायल कात्जले गाजा नियन्त्रण गर्ने सैन्य अभियानलाई अनुमति दिएका थिए । उक्त योजनालाई यसै साताको अन्त्यतिर सुरक्षा परिषद्मा प्रस्तुत गर्ने तयारी भएको छ ।
यो योजनाअन्तर्गत करिब ६० हजार रिजर्भ सैनिकलाई सेप्टेम्बर सुरुवातमा बोलाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । यस अभियानमा सक्रिय ड्युटीमा रहेका जवानलाई समेत समावेश गरिनेछ ।
हमासको आरोप
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलले निर्दोष नागरिकविरुद्ध निर्मम युद्ध जारी राखेको आरोप लगाएको छ । युद्धविराममा अवरोध सृजना गरिरहनु पनि यही रणनीति भएको हमासको भनाइ छ ।
गाजा पट्टीको उत्तरी क्षेत्रस्थित गाजा शहरमा लाखौं प्यालेस्टिनी नागरिक बसोबास गर्दै आएका छन् । युद्धअघि नै यो शहर गाजाको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र हो ।
नेतान्याहुको अभिव्यक्ति र आलोचना
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फक्स न्युजसँग कुरा गर्दै इजरायलको योजना गाजापट्टीलाई नियन्त्रण मात्र नभई यसलाई “अरब देशहरूसमेतलाई संकेत गर्ने” उद्देश्य भएको बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले तीव्र आलोचना गरेको छ ।
संयुक्त राष्ट्रसंघले यस कदमले ठूलो संख्यामा विस्थापन र हत्याको जोखिम बढ्ने चेतावनी दिएको छ ।
नेतान्याहुले युद्ध अन्त्यका लागि पाँच सिद्धान्त प्रस्तुत गरेका छन्:
-
हमासको पूर्ण निरस्त्रीकरण
-
सबै बन्धकहरूको फिर्ता (जिवित वा मृत)
-
गाजापट्टीमा सैन्यीकरणको अन्त्य
-
इजरायलको सुरक्षा नियन्त्रण
-
हमास वा प्यालेस्टाइनसँग सम्बन्धित नभएको वैकल्पिक नागरिक प्रशासनको स्थापना
मानवीय संकट र आन्तरिक असहमति
आईडीएफ (इजरायल डिफेन्स फोर्स) ले गाजा शहर नियन्त्रणको तयारी भइरहेको जनाउँदै युद्धक्षेत्रबाहिर रहेका नागरिकलाई मानवीय सहायता दिने बताएको छ । तर सहायता उपलब्ध गराउने प्रक्रिया विवादास्पद ‘गाजा ह्युमेनेटेरियन फाउन्डेशन’मार्फत हुने वा नयाँ संयन्त्रमार्फत भन्ने स्पष्ट गरिएको छैन ।
इजरायली मिडिया रिपोर्टअनुसार यस मुद्दामा प्रधानमन्त्री नेतान्याहु र सेनाप्रमुखबीच चर्को बहस भएको थियो। सेनाप्रमुखले गाजा पूर्ण नियन्त्रणको विरोध गरेको बताइएको छ ।
हालसम्म गाजाको ७५ प्रतिशत भूभागमा नियन्त्रण लिएको इजरायलको दाबी छ भने संयुक्त राष्ट्रसंघले ८६ प्रतिशत क्षेत्र सैन्य क्षेत्रमा परिणत भएको तथ्याङ्क सार्वजनिक गरेको छ । विश्लेषकहरूले भने गाजा नियन्त्रणको धम्की हमासलाई दबाबमा राख्ने रणनीति मात्र हुन सक्ने बताएका छन् ।