नेपाल राष्ट्र बैंकले पुनः सर्वसाधारणलाई १०० रुपैयाँभन्दा माथिका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न आग्रह गरेको छ ।
हाल नेपालमा भारतीय २ सय, ५ सय र २ हजार दरका नोट प्रयोगमा प्रतिबन्धित छन् । तर, केही नेपाली नागरिकले यस्ता नोट साथमा बोक्ने, कारोबार गर्ने र ओसारपसार गर्ने गरेको फेला परेपछि राष्ट्र बैंकले पुनः सूचना जारी गरेको हो ।
राष्ट्र बैंकले २०७५ पुस २३ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तिमा रहेका भारतीय ५ सय र १ हजार दरका नोट कारोबारमा पूर्ण रूपमा निषेध गरिएको पनि स्मरण गराएको छ । साथै, भारतीय २ सय, ५ सय र २ हजार दरका नोट नेपालभित्र लैजान वा अन्य मुलुकमा पठाउन नपाइने व्यवस्था रहेको स्पष्ट पारिएको छ ।
यसअघि पनि राष्ट्र बैंकले पटक–पटक यस्ता नोटको कारोबार निषेध भएको जानकारी दिँदै आइरहेको छ ।