अमेरिकी सरकारले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको छ । यससँगै भारतीय वस्तुमा लाग्ने कुल कर ५० प्रतिशत पुगेको छ ।
अमेरिकी समयअनुसार यही अगस्ट २७ (बुधबार) बिहान ९ः ४५ बजेदेखि नयाँ नियम लागू भएको अमेरिकी सरकारको आधिकारिक सूचनामा जनाइएको छ । सूचनामा भनिएको छ, “अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगका लागि अमेरिका आइपुगेका वा गोदामबाट निकालिएका कुनै पनि भारतीय सामानमा यो बढेको शुल्क लाग्नेछ ।”
यसअघि नै भारतमाथि २५ प्रतिशत भन्सार दर तोकिएको थियो । हाल थप २५ प्रतिशत जोडिँदा कुल कर ५० प्रतिशत पुगेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरी युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै यो कदम चालिएको बताएका छन् ।
तर, भारतले भने ट्रम्प प्रशासनको यो निर्णयलाई ‘अनुचित, अव्यावहारिक र तर्कहीन’ भन्दै कडा विरोध जनाएको छ ।
यसअघि पनि अमेरिकाले भारतमाथि कर बढाउने प्रयास गरेको थियो । अप्रिल २०२५ मा ट्रम्पले २६ प्रतिशत कर लगाउने घोषणा गरे पनि ९० दिनका लागि स्थगित गरिएको थियो । त्यसपछि जुलाई २०२५ मा २५ प्रतिशत कर लागू गरिएको थियो । अहिले फेरि अगस्टमा थप २५ प्रतिशत थपिँदा कुल कर ५० प्रतिशत पुगेको छ ।
यो कदमले दुई देशबीचको व्यापार सम्बन्धमा थप तनाव चुलिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको टिप्पणी छ ।