दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा प्रारम्भिक अध्ययनअनुसार करिब १ सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागले अन्तिम प्रतिवेदनको पर्खाइमा रहेको बताएको छ ।
विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार प्रारम्भिक प्रतिवेदनअनुसार भेटिएको ग्यासले नेपाललाई करिब ५०–६० वर्ष पुग्ने क्षमताको सुविधा दिन सक्छ । अन्तिम प्रतिवेदन आएपछि ग्यास उत्पादनका लागि नेपाल र चीनबीच “गर्भमेन्ट टु गर्भमेन्ट (जीटुजी)” सम्झौता हुने विभागले जनाएको छ ।
चिनियाँ जियोलोजिकल सर्भेले १ सय १२ अर्ब घनमिटर ग्यास भएको प्रारम्भिक प्रतिवेदन पठाएपछि जलजले क्षेत्रमा चहलपहल बढेको छ । चीन सरकारको अनुदानमा २ अर्ब ४० करोड रुपैयाँ लगानी गरी ६ वर्षसम्म गरिएको अन्वेषणबाट यो उपलब्धि हासिल भएको हो। चिनियाँ पक्षले डिसेम्बरसम्म अन्तिम प्रतिवेदन पठाउने जानकारी दिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
जलजले क्षेत्रमा झण्डै ८५ अर्ब अमेरिकी डलर मूल्यको प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । प्राकृतिक ग्यासको अन्वेषण चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २ देखि डेढ वर्षसम्म ४ हजार १३ मिटर गहिराईसम्म ड्रिलिङ गरेको थियो ।
स्थानीय जग्गाको मूल्य पनि प्रतिवेदन सार्वजनिक भएपछि तीव्र वृद्धि भएको छ । स्थानीय अगुवा धनबहादुर बुढाले भने, “पहिले प्रतिरोपनी ५ लाखको जग्गा अहिले १५ लाख पुगेको छ। दैनिक ५–७ वटा जग्गा कारोबार भैरहेको छ, होटल–पसल पनि बढिरहेका छन् ।”
भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीका अनुसार मध्यपहाडी राजमार्ग छेउको अवस्थालाई ध्यानमा राख्दै आसपासका गाउँहरूसँग जोड्न तीन वटा सडक निर्माण भइरहेको छ । यस वर्ष पूर्वाधार निर्माणका लागि झण्डै दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पेट्रोलियम पदार्थको उत्खननका लागि २०७२ चैतमा चीन र नेपालबीच द्विपक्षीय समझदारी भएको थियो । त्यसपछि २०७६ असोजदेखि खानी विभाग र चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरेका थिए। २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन सम्झौता भएको थियो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो, जसमा झण्डै ७० जना प्राविधिक र १०० जना स्थानीय मजदुरले १९ महिना काम गरेका थि ए ।
हाल जलजलेमा ३ जना चिनियाँसहित सशस्त्र प्रहरीले ड्रिलिङ क्षेत्रको सुरक्षा दिइरहेको छ भने थप सुरक्षाका लागि नेपाल प्रहरीले चौकी स्थापना गरेको छ ।