भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना पाकिस्तानी आतंककारी भारत प्रवेश गरेको सूचनापछि भारतीय सुरक्षा निकायले ‘हाई अलर्ट’ जारी गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार नेपालमार्ग हुँदै बिहार प्रवेश गरेका तीन जनाको पहिचान हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान भएको बताइएको छ । तर उनीहरू कहिले र कुन नाकाबाट भारत छिरे भन्नेबारे प्रष्ट विवरण सार्वजनिक गरिएको छैन ।
सुरक्षा सतर्कता बढाएसँगै भारतीय प्रहरी मुख्यालयले सम्पूर्ण सुरक्षाकर्मीलाई सूचना दिँदै गुप्तचर निकायलाई परिचालन गरेको छ । बिहारका सीमावर्ती जिल्ला सीतामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलमा विशेष निगरानी बढाइएको छ ।
प्रहरीले तीनै जनाको हुलिया र विवरण सबै युनिटहरूमा पठाइसकेको छ । साथै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन स्थानीय बासिन्दालाई पनि आग्रह गरिएको छ ।
यसअघि सन् २०२४ मा पनि नेपाल हुँदै आतंककारी भारत प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीले तीन जनालाई पक्राउ गरेको थियो ।