राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बोलाएको छ । बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवार छनोट, मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपाका अनुसार सचिवालय बैठक सकिनेबित्तिकै उपनिर्वाचनका लागि उम्मेदवारको नाम घोषणा गरिने कार्यक्रम तय भएको छ ।
रुपन्देही–३ को उपनिर्वाचनमा नौ जनाले उम्मेदवारी दिन इच्छुक देखिएका छन् । शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षीको रूपमा नाम आएका छन् ।
यसअघि बिहान ११ बजे सबै नौ जना आकांक्षीहरूले रास्वपा सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने कार्यक्रम छ। उनीहरूले सामूहिक रुपमा भेटघाट गर्ने तयारी गरेका छन् ।
रुपन्देही–३ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि सो स्थानमा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।