अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार मध्यराति आएको शक्तिशाली भूकम्पमा कम्तीमा २० भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमावर्ती क्षेत्रमा स्थानीय समय अनुसार राति ११:४७ बजे गएको भूकम्प ६.० म्याग्निच्यूडको भएको बीबीसीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
यस भूकम्पमा ११५ भन्दा बढी घाइते भएको र उनीहरूको नांगरहार र कुनार प्रान्तका अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पको झड्का पाकिस्तानको इस्लामावाद र एवटावादसम्म समेत महशुस गरिएको थियो । पहिलो झड्कापछि ४.७, ४.३ र ५ म्याग्निच्यूडका पराकम्पहरू लगातार महशुस गरिएको बताइएको छ ।
यसअघि सन् २०२३ अक्टोबर ७ मा अफगानिस्तानमै आएको विनाशकारी भूकम्पमा परी ४ हजार जनाको मृत्यु भएको थियो भने संयुक्त राष्ट्रसंघले १,५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।