बारामा काठ तस्करी नियन्त्रणका लागि बन टोलीले सञ्चालन गरेको विशेष अपरेसनमार्फत ठूलो परिमाणमा काठ बरामद गरिएको छ । उक्त अपरेसनमा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।
मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक गस्ती गर्ने क्रममा काठ बरामद गरेको हो । टोलीले बेलुकी ७ बजेदेखि तीन समूहमा विभाजन भई गस्ती गरिरहेको समयमा बिहान करिब २ः४५ बजे तस्करीमा संलग्न समूहलाई नियन्त्रणमा लिएको हो ।
डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाका अनुसार गस्ती टोलीले ५ थान साल जातका काठ (४६.०६ क्युफिट), ६ थान होंडा साइकल, २ थान आरा र २ थान बन्चरो बरामद गरेको छ । करिब १० जनाको समूहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर मुसहर टोलका ६७ वर्षीय रामबाबु सहनीलाई पक्राउ गरिएको र अन्य फरार रहेको जानकारी दिइएको छ ।
पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको छ । काठ तस्करीमा संलग्न जोकोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनी डिभिजनल बन अधिकृत झाले दिएका छन् ।