जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बसन्त कुमार कर्णमाथि कार्यालय सहयोगी रासबिहारी खत्वेले जातीय छुवाछूत गरेको आरोप लगाएका छन् ।
खत्वेले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिँदै आफू २४ वर्षअघि मासिक ज्यालादारीमा कार्यालय सहयोगीका रूपमा भर्ना भए पनि पछिल्ला १८ वर्षदेखि करारमा स्थायी कर्मचारीको रूपमा कार्यरत रहँदै आएको जानकारी दिएका छन् । उनले क्याम्पस प्रमुख कर्णसहित केही कर्मचारीहरूले आफूलाई दलित भएकै कारण लामो समयदेखि अपमानजनक व्यवहार गर्ने गरेको आरोपसमेत लगाएका छन् ।
उनको दाबी अनुसार, क्याम्पस प्रमुखले कक्षामा समेत प्रवेश गर्न नदिएको र कार्यालय परिसरमा निरन्तर विभेदपूर्ण व्यवहार गरेको गुनासो छ ।
खत्वेले उजुरीमार्फत मुलुकी अपराध संहिता २०७४ को दफा १६० अनुसार भेदभावपूर्ण व्यवहार र दफा १७६ अनुसार जातीय आधारमा छुवाछूत गरी अपमानजनक व्यवहार भएको भन्दै कर्णलाई कानुनी सजाय दिलाउन माग गरेका छन् । साथै, दफा १६९ बमोजिम क्षतिपूर्ति दिलाउनुपर्ने पनि उनको माग छ ।
यसबारेमा प्रहरी प्रशासनले अनुसन्धान अघि बढाएको जनाएको छ ।