वीरगंज | खानेपानी मन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । बान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि उनलाई बुधबार बिहान वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
यसअघि, मंगलबार साँझ पनि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो, तर अवस्था सामान्य भएपछि राति नै फिर्ता ल्याइएको थियो । बुधबार बिहान भने पुनः समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो ।
भदौ १३ गते खानेपानी मन्त्रीलाई धम्की दिएको अडिओ सार्वजनिक भएपछि मन्त्रीको स्वकीय सचिवमार्फत आएको उजुरीका आधारमा प्रहरीले उनलाई भदौ १४ गते वीरगंजबाट पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराध, ज्यान मार्ने धम्की र अफवाह फैलाएको आरोप छ ।
प्रहरीले अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट दुई पटक गरी ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, पक्राउ परेदेखि नै किरणले ठोस खानेकुरा खाएकी छैनन् र झोलिलो खानेकुरा मात्रै खाइरहेकी छिन् । किरण बाराको कलैया घर भई वीरगञ्जमा डेरा गरी बस्दै आएकी छिन् ।





भिडियाे सामाग्री