सर्लाही | ईश्वरपुर नगरपालिकाले नगर अस्पताल बयलबासमा पहिलो पटक डायलासिस सेवा सुरु गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आवश्यक औजार, उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।
नगरप्रमुख आचार्यका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित नगर अस्पतालमै मिर्गौला पीडितलाई लक्षित गरी सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।
हाल पहिलो चरणमा आरो प्लान्ट, मोटर र फिल्टर जडानको काम भइरहेको अस्पतालले जनाएको छ । आरो प्लान्टको काम पूरा भएपछि डायलासिस मेसिन जडान गर्न इन्जिनियर बोलाइने स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिनुभयो ।
यसअघि यस क्षेत्रका मिर्गौला पीडितलाई डायलासिसका लागि जनकपुर, वीरगन्ज, नारायणगढलगायतका शहर धाउनुपर्ने बाध्यता थियो । लामो यात्रा र अत्यधिक खर्चका कारण स्थानीयवासी समस्यामा परिरहेको अवस्थालाई मध्यनजर गर्दै नगरमै सहज ढङ्गले सेवा उपलब्ध गराउने लक्ष्य लिएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
नगरपालिकाले डायलासिस सेवा सञ्चालनका लागि लामो समयदेखि पहल गर्दै आएको हो । हेल्पिङ ह्यान्ड संस्थाले सेवा सञ्चालनका लागि तीन करोड रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले राष्ट्रिय मिर्गौला केन्द्र वनस्थलीसँग समन्वय गरी तीन जना स्वास्थ्यकर्मीलाई तालिम गराइसकेको र थप जनशक्ति भर्ना गर्ने प्रक्रिया अगाडि बढाइएको संयोजक महतोले बताए। प्रारम्भमा दुई वटा मेसिनबाट सेवा सुरु गरी केही महिनाभित्रै पाँच वटा मेसिन थप गर्ने तयारी नगरपालिकाले गरेको छ ।
डायलासिस सेवामा बिरामीको चाप बढ्ने अनुमानसहित सेवा प्रवाहका लागि आवश्यक मापदण्ड तत्कालै तयार पारिने र सेवा नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई सय केभी क्षमताको ट्रान्सफर्मरसमेत जडान गरिएको अस्पतालले जनाएको छ ।
भिडियाे सामाग्री