वीरगंज | इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ आज नेपालसहित विश्वभर धार्मिक श्रद्धा, उत्साह र सद्भावका साथ मनाइएको छ ।
नेपाल सरकारले मुस्लिम समुदायका लागि विशेष सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले समेत सम्पूर्ण प्रदेशमा बिदा घोषणा गर्दै पर्वको महत्वलाई मान्यता दिएको छ ।
मुस्लिम समुदायले काठमाडौं, वीरगन्ज, गोरखा, नेपालगञ्ज, विराटनगरलगायतका स्थानहरूमा धार्मिक जुलूस, सामूहिक कुरान पाठ, मस्जिदमा विशेष प्रार्थना तथा सामूहिक भोजनका कार्यक्रम आयोजना गरेका छन्। पर्वको अवसरमा शान्ति, सहिष्णुता र भाइचारा प्रवर्द्धन गर्ने सन्देश दिइएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्। उपराष्ट्रपतिले मोहम्मदको जीवन दर्शनबाट त्याग, मानवता र भाइचाराको पाठ सिक्न आग्रह गर्दै आजको समाजमा यसको सन्देश अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले यस पर्वले प्रदेशभित्र सामाजिक एकता, धार्मिक सहिष्णुता र सद्भाव बलियो पार्ने अपेक्षा व्यक्त गर्नुभयो ।
नेपालको बहुल धार्मिक, सांस्कृतिक र जातीय समाजमा यस पर्वको सामाजिक महत्व झन् प्रकट भएको विभिन्न वक्ताहरूले बताएका छन् । ‘मोहम्मद डे’ सामाजिक सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकताको प्रतीकको रूपमा मनाइँदै आएको छ ।
भिडियाे सामाग्री