काठमाडौँ । नेपाल सरकारको निर्देशनमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको घोषणा भए पनि फेसबुकसहितका एप धमाधम चलिरहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये हालसम्म केवल एक्स (पूर्व ट्विटर) मात्र सरकारको सम्पर्कमा आएको छ । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक लगायतका एपले भने दर्ता हुन अस्वीकार गरेपछि सरकारले रोक लगाउने निर्णय गरेको थियो ।
सरकारको निर्णयअनुसार दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेडसहित युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, विच्याटलगायत २६ एप बन्द गरेको दाबी गरेका छन् ।
तर, बन्द निर्णय कार्यान्वयन भए पनि सर्वसाधारण प्रयोगकर्ताले फेसबुक र म्यासेन्जर निर्वाध रूपमा चलाइरहेका छन् । सुरुमा केही घण्टा प्रभाव देखिए पनि अहिले प्रयोग बढ्दो अवस्थामा छ । धेरैले भिपीएन, ब्राउजर सेटिङ परिवर्तन वा डिएनएस एक्टिभ गरेर फेसबुक प्रयोग गरिरहेका छन् ।
सामाजिक सञ्जालमा नै कसरी चलाउने भन्ने जानकारीमूलक सामग्री पनि पोस्ट भइरहेका छन् । यसैबीच दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनबहादुर अर्यालले सामाजिक सञ्जाल स्थायी रूपमा बन्द भएको हल्लामा विश्वास नगर्न आग्रह गर्दै दर्ता प्रक्रिया पूरा भएमा प्रतिबन्ध फुकुवा हुने स्पष्ट पारे ।
भिडियाे सामाग्री