काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा ११ वर्षीया बालिका घाइते भएकी छन् ।
घटनापछि गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । मन्त्री राना नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै गर्दा दुर्घटना भएको हो ।
घाइते बालिकालाई उपचारका लागि बीएण्डबी अस्पताल पुर्याइएको थियो । स्वास्थ्य सुधार भएपछि डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार बालिकाको सम्पूर्ण उपचार खर्च चालक पक्षले व्यहोरेको छ ।
घटनास्थलमा पुगेका सीडीओ घिमिरे र एसएसपी श्यामकृष्ण अधिकारीले प्रारम्भिक अनुसन्धानमा जेब्रा क्रसिङ पार गरेर बाटो काट्न खोज्दै गरेकी बालिकालाई गाडी पास हुने क्रममा ठक्कर दिएको पाइएको बताएका छन् ।
तर, दुर्घटनापछि मन्त्री सवार गाडी रोकिने बदला अघि बढेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । हरिसिद्धामा प्रदर्शन र सडक अवरोध भएपछि एमाले विधान महाधिवेशन सुरु हुन ढिलाइ भएको थियो ।
सोही महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई ‘सामान्य दुर्घटना’ को संज्ञा दिएका थिए ।
भिडियाे सामाग्री