जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेन-जी समूहलाई राजधानीमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
माइतीघर–नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएकाले त्यहाँ बाहेक अन्य स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जानकारी दिए ।
‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनु भएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं,’ सीडीओ रिजालले बताए । जेन-जी समूहका केही विद्यार्थीहरू आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रदर्शनका लागि अनुमति मागेका थिए ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीतिक बेथिति तथा नेताहरू र उनीहरूको सन्तानको विलासी जीवनशैलीविरुद्ध प्रश्न उठाउँदै जेन-जीले सोमबार प्रदर्शन गर्ने घोषणा गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ लामा रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे प्रगतिशील सामुदायिक वनतर्फ च्याउ टिप्न गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्पश्चात प्रहरी टोली पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
केही समयअघि मात्रै बारा अमलेखगञ्जमा पनि बाघको आक्रमणबाट तीनजनाको ज्यान गएको थियो । यसरी निरन्तर बाघ आक्रमणका घटना बढ्दै गएपछि स्थानीयवासी आतंकित बनेका छन् ।
उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन विभिन्न निकाय सक्रिय भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएको प्राविधिक टोलीसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । बाघलाई नियन्त्रणमा लिन हात्तीको प्रयोगसहित डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको डीएसपी जोशीले जानकारी दिए ।
भिडियाे सामाग्री