संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा जारी आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न सरकार र सरोकारवालाहरूप्रति आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत युवाहरूको मागलाई संवाद र विश्वास निर्माण मार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसंघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र शान्तिपूर्ण समाधानमार्फत समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउनेछ ।”
यूएनले आन्दोलनका क्रममा अत्यधिक शक्ति प्रयोग भएको भन्दै त्यसमा संलग्न व्यक्ति र संरचनामाथि स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्नुपर्ने माग समेत गरेको छ ।
विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गर्ने आन्दोलनकारीहरूको मौलिक अधिकारको सम्मान गर्न राज्यका निकायलाई सचेत गराइएको छ । साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्दै सुरक्षाकर्मीहरूले संयमित र सन्तुलित ढंगले मात्र कानुन कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।
“प्रदर्शनकारीलाई मौलिक स्वतन्त्रता शान्तिपूर्ण ढंगले प्रयोग गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “साथै सुरक्षाकर्मीहरूले गर्ने सबै क्रियाकलाप अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुरूप हुन आवश्यक छ ।”
यूएनले समस्याको दीर्घकालीन समाधानका लागि संवाद नै उपयुक्त माध्यम भएको दोहोर्याउँदै सबै सरोकारवालालाई युवाको आवाज सुन्न आह्वान गरेको छ ।
यसैगरी, बल प्रयोगका घटनाबारे आएका सबै आरोपहरूको तत्काल स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यूएनले नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेको छ ।