हेटौंडा | हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दी फरार भएका छन् ।
सुधार गृहका अनुसार, ७२ जना बालबन्दीमध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ भने १ जना आफैं फर्किएको छ। अझै ५८ जना फरार छन् ।
सुधार केन्द्रका प्रमुख प्रदीप गौतमका अनुसार, सुधार गृहमा कुल ९४ जना बालकहरू बस्दै आएका थिए। २२ जना बालकहरू भने सुधार गृहमै रहेको जनाइएको छ ।
गौतमका अनुसार, आइतबार दिउँसो करिब साढे ३ बजे बालसुधार गृहको संरचना तोडेर बालबन्दीहरू फरार भएका हुन्। फरार बालकहरूको खोजी कार्य तीव्र पारिएको छ ।
सुधार गृहका प्रमुखले बताएअनुसार, गेट बाहिर आएका अभिभावकहरूले ढुंगामुढा गर्दा बालबन्दीहरूले भित्र तोडफोड गरी भागेका हुन् ।