काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवनलाई आगामी प्रधानमन्त्री बस्ने सम्भावित स्थानका रूपमा तयारी गरिएको छ ।
मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सिंहदरबारका विभिन्न भवनहरूको अध्ययन गर्दा सो विकल्पबारे छलफल भएको एक सचिवले जानकारी दिए । “अन्य भवन पनि हेर्ने काम भयो, कुनै पनि सद्दे छैनन् । निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन एउटा विकल्प हुन सक्छ भन्ने कुरा भएको हो,” उनले बताए ।
बुधबार आन्दोलनकारीको आक्रमणमा परेका सिंहदरबारभित्र अहिलेसम्मकै ठूलो क्षति पुगेको छ । अधिकांश भवनमा आक्रमण र आगजनी हुँदा मन्त्रालयका कागजात जलेका छन् भने सवारीसाधनमा समेत व्यापक क्षति पुगेको छ ।
मुख्यसचिव अर्यालका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कसरी र कहाँ व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ। सिंहदरबारबाटै प्रशासनिक काम सञ्चालन गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे ।