काठमाडौँ । गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिएको छ । नयाँ सरकार गठनको तयारीसँगै प्रधानमन्त्रीको कार्यकक्ष व्यवस्थापन प्रक्रिया सुरु गरिएको हो ।
जेन–जी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो । हाल निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रूपमा व्यवस्थापन गर्न लागिएको छ ।
त्यसका लागि आवश्यक सामग्रीको व्यवस्थापनका साथै सरसफाइ पनि गरिएको छ। जेन–जीको नाममा अराजक समूहले अन्य भवन जलाए पनि निर्माणाधीन यो भवन भने जोगिएको थियो ।
यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो । आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।





