काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै साँझ सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।
शुक्रबार दिनभर चलेको राजनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पनि सहमति बनेको स्रोतले जनाएको छ ।
शीतलनिवाससँग सम्बन्धित स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल प्रारम्भमा कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा थिए । तर, आन्दोलनमा रहेका युवाले तत्काल आन्दोलनकारी बोलाएर शीतलनिवास घेराउ गर्ने चेतावनी दिएपछि पौडेल पछि हटेका हुन् ।
स्रोतका अनुसार, आफूले आन्दोलनलाई थेग्न नसक्ने अवस्था देखेपछि राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेताहरूलाई प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी भएको बताएका छन् ।
यसैबेला शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको मस्यौदा, साथै कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा तयार गर्ने काम भइरहेको छ ।