काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेट्न अस्पतालहरूमा पुगेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टर र मिनभवनस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए ।
डा. रिजालले केही बिरामीको शल्यक्रिया गर्नुपर्ने भए पनि गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।
