काठमाडौं/भारत । नेपालबाट भागेर भारत प्रवेश गर्ने प्रयासमा रहेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
समाचार संस्था एनएनआईका अनुसार, नेपालमा जेनजी नेतृत्वको आन्दोलनपछि उत्पन्न अशान्तिका बीच जेल तोडेर भागेका कैदीहरूले भारत प्रवेश गर्ने प्रयास गरेका थिए । विभिन्न नाकाबाट उनीहरूलाई रोक्दै एसएसबीले नियन्त्रणमा लिएको हो ।
भारतीय गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय सशस्त्र प्रहरी बल (सीएपीएफ) अन्तर्गतको एसएसबीलाई भारत–नेपालबीचको १,७५१ किलोमिटर लामो खुला सीमा र भुटानसँगको ६९९ किलोमिटर सीमा सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ । नेपालमा भइरहेको आन्दोलनपछि एसएसबी अझ सतर्क बनेको छ ।
भारत र नेपालबीच सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड गरी पाँच भारतीय राज्य हुँदै जोडिएको सीमा १,७५१ किलोमिटर लामो रहेको छ ।