काठमाडौं । देशको वर्तमान विषम परिस्थितिका कारण थारु समुदायले आफ्नो प्रमुख पर्व जितिया महोत्सवलाई सार्वजनिक रूपमा नमनाउने निर्णय गरेको छ ।
थारु महिला सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार जारी विज्ञप्तिमा उल्लेख गर्दै, भदौ ३० गते पर्यटन बोर्डको सभाहलमा मनाउने योजना स्थगित गरिएको जानकारी दिइन् । उनले यस वर्ष जितिया पर्वलाई आफ्नै घरमा परम्परागत रूपमा मनाउन थारु समुदायका महिलाहरूलाई आग्रह गरेकी छन् ।
थारु समुदायका महिलाहरूको प्रमुख पर्व जितिया पर्वलाई यस वर्ष सामुहिक रूपमा मनाउन वातावरण अनुकूल नरहेको अध्यक्ष चौधरीले बताइन् । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको वातावरण सहज नभएकाले यस्तो निर्णय लिनु परेको हो ।
थारु समुदायले प्रायः तीन दिनसम्म जितिया पर्व मनाउने गर्दछन् । तर, यस वर्ष भदौ २८ देखि ३० गतेसम्म मनाइने पर्वलाई परिस्थितिका कारण महोत्सवको रूपमा नमनाइने भएको छ ।
