भ्रष्टाचारविरुद्ध भइरहेको Gen-Z आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी पोस्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार काठमाडाैँमा भएकाे २३ गतेकाे प्रदर्शनकाे भाेलिपल्ट भदौ २४ गतेको आन्दोलनका क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’ मा तोडफोड तथा आगजनी गरिएको थियो । त्यस्तै, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा समेत आगजनी तथा क्षति भएको हो ।
काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएको भन्दै देशभर विरोध प्रदर्शन चर्किएको थियो । त्यसै क्रममा पर्सामा पनि प्रदर्शनकारी आक्रामक बन्दा प्रहरी पोस्टहरूमा आगजनी तथा क्षति पुर्याएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राका अनुसार प्रदर्शनको क्रममा पाँच जना प्रहरी घाइते भएका थिए । उनीहरूको उपचारपछि सबै प्रहरी ड्युटीमा फर्किएका छन् । भने, “आज बेलुकीसम्म सबै विटहरू पुनःस्थापना हुनेछन् । स्थानीयवासी, बुद्धिजीवी र भद्रभलादमीहरूको सक्रिय सहयोगमा प्रहरी कर्मचारीहरू आफ्नो पोस्टमा फर्किसकेका छन् भने सुरक्षामा खटिन सुरु गरिसकेका छन् ।”
आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी चौकीहरूको पुनःस्थापनाले प्रहरीको मनोबल फर्किएको र स्थानीय सुरक्षामा सहज हुने प्रहरीको दाबी छ ।