काठमाडौँ । ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङले नयाँ सरकारमा तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल बिताएका घिसिङले पहिलो कार्यकालमै देशव्यापी लोडसेडिङ अन्त्य गरी “उज्यालो नेपाल” का प्रतीक बनेका थिए । उनले विद्युत् वितरण सुधार, नाफा वृद्धि, पारदर्शिता र ग्रामीण विद्युतीकरणमा उल्लेखनीय काम गरेका थिए। तर, दोस्रो कार्यकालको अन्त्यतिर उद्योगहरूलाई दिइएको छुट बिल कटौतीसम्बन्धी विवादमा तानिएका थिए ।
हाल स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा सक्रिय रहेका घिसिङ जेन–जी आन्दोलनमा पनि सहभागी भएका थिए । इन्जिनियरिङ र व्यवस्थापनमा अध्ययन गरेका रामेछापका घिसिङलाई अब सरकारको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ ।