शहरी, उर्जा तथा भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन चुस्त दुरुस्त बनाउन तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आज सरोकारवाला पक्षसँग भएको छलफलमा मन्त्री घिसिङले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न २४ सै घण्टा सडक अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउन र यात्रुको गुनासो सुन्ने प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
सडकमा पहिरो वा अन्य कारणले अवरोध भएमा तुरुन्तै पुनर्स्थापनाको लागि आवश्यक Rapid Restoration प्रणाली तत्पर राख्नुपर्नेमा समेत मन्त्री घिसिङले जोड दिए ।
दशैं, तिहार, छठ लगायतका चाडपर्वमा घर फर्किने तथा शहरबाट गाउँतिर जाने यात्रुहरूको भीडलाई ध्यानमा राख्दै यातायात व्यवस्थापनमा कुनै कमी हुन नदिन सरकारले विशेष तयारी गरेको मन्त्रालयले जनाएको छ ।