सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख रुपैयाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार मंगलबार दिउँसो करिब १:५० बजे वीरगंज महानगरपालिका–१६, भन्सार मेनगेट नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएफ ०४६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नगद फेला परेको हो ।
चेकजाँचका क्रममा पर्साको सखुवापर्सौनी गाउँपालिका–५ निवासी करिब ४३ वर्षीय राजेश कुमार साह तेलीबाट नेपाली नगद ८ लाख ७ हजार रुपैयाँसहित करिब १ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद रकममा एक हजार दरका ५१५ वटा, पाँच सय दरका ५७२ वटा र एक सय दरका ६० वटा नोटहरू रहेका छन् । बरामद व्यक्ति, नगद र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन् ।