मुग्लिन–नारायणघाट सडकखण्डको तुइनखोलामा खसेको ठूलो पहिरो पन्छाउन लाग्ने समय अनिश्चित बनेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेर भरिएको स्थान साँघुरो भएकाले एकैपटक धेरै उपकरण प्रयोग गर्न सकिने अवस्था छैन । पाँचभन्दा बढी उपकरण परिचालन गर्न ठाउँ नपुग्ने भएकाले काम सुस्त गतिमा भइरहेको र पहिरो पन्छाउन अझै समय लाग्ने देखिएको कार्यालयले जनाएको छ ।
पटकपटक ठूलो पहिरो खस्दा सो सडकखण्डमा एक सातादेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । डिभिजन कार्यालयका अनुसार पहिरो पूर्ण रूपमा पन्छिएर सडक सुचारु नहुन्जेल वैकल्पिक सडकमार्ग प्रयोग गर्न सवारीधनी तथा यात्रुहरूलाई आग्रह गरिएको छ ।