गृह मन्त्रालयले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौँसहित देशका विभिन्न ठाउँमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै असोज मसान्तभित्र नजिकैको सुरक्षा निकायमा यस्ता हतियार बुझाउन वा जानकारी दिन अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ, “मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कहीँ कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध छ ।”
मन्त्रालयका अनुसार तोकिएको समयमा हतियार वा खरखजाना बुझाउने वा जानकारी दिने व्यक्तिलाई उचित सम्मान गरिनेछ । तर, असोज मसान्तपछि कोहीसँग यस्ता सामग्री फेला परेमा कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।