वीरगंज । चालु आर्थिक वर्षको दुई महिनामा वीरगंज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन् ।
गत आवको सोही अवधिको तुलनामा यस वर्षको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु निर्यात भएको छ । गत आवको पहिलो दुई महिनामा वीरगंज नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु निर्यात भएको थियो।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले निर्यातको अवस्था उत्साहजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आवको दुई महिनाको तुलनामा चालु आवमा निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ। गत आवमा वैदेशिक व्यापारको अनुपात १ः२० थियो भने अहिले १ः६० पुगेको छ ।”
चालु आवको दुई महिनामा वीरगंज नाका हुँदै रु आठ अर्ब ८४ करोड मूल्य बराबरको चार करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ, जबकि गत आवको सोही अवधिमा मात्र तीन लाख मूल्य बराबरको ४८० लिटर तेल निर्यात भएको थियो ।
त्यस्तै, चालु आवको दुई महिनामा रु एक अर्ब २४ करोड मूल्य बराबरको एक करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब २९ करोड मूल्य बराबरको एक करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो ।
चालु आवको दुई महिनामा रु एक अर्ब १७ करोड मूल्य बराबरको तीन करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।