कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
निर्देशनअनुसार न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न सकिनेछ ।
यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब–भत्ता लगायतका सुविधाका लागि आधारदरमा बढीमा शून्य दशमलव ५० प्रतिशत बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रवाह गर्न सकिने प्रावधान गरिएको छ ।
त्यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यति समयसम्मका लागि मात्र उपलब्ध हुनेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमध्ये २ प्रतिशत ब्याजदर सरकारबाट ६ महिनासम्म अनुदानका रूपमा उपलब्ध हुनेछ । त्यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ ।
त्यस्तै, जेनजी प्रदर्शनबाट प्रत्यक्ष प्रभावित व्यवसायिक प्रतिष्ठानमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न आवश्यक कर्जा प्रदान गर्दा ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिनेछ ।
यसका साथै रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण देखिएको अवरोधबाट प्रभावित कर्जा ऋणीको अनुरोधमा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ । यस्तो पुनरतालिकीकरण गत असार मसान्तसम्म जुन वर्गमा थियो, सोही वर्गमै कायम हुने निर्देशनमा उल्लेख छ ।