काठमाडौँ | पछिल्लो समय जेन–जी आन्दोलनमा अनावश्यक धरपकड गरी प्रदर्शनकारीमाथि कडा कारवाही आदेश दिनेहरूलाई कारवाही गर्नुपर्ने माग बढ्दो क्रममा छ । आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरू पक्राउ पर्न थालेपछि गृहमन्त्रीसमेत आलोचित भएका छन्।
तर, यहीबीच गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ कि जेन–जी प्रदर्शनमा सहभागीहरूमाथि तत्काल कारवाही प्रक्रिया अघि नबढाइनेछ। यस विषयमा छानबिन गर्न गठन गरिएको आयोगको कार्यक्षेत्रभित्र पर्ने मामिलामा मात्रै कारवाही अघि बढाइने छैन ।
सूचनामा भनिएको छ, “आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा जिवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । आयोगबाट रायसहितको प्रतिवेदन प्राप्त भएपश्चात नेपाल सरकारले कानुन बमोजिम निर्णय गर्नेछ । तसर्थ आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाइनेछ । तर गैरकानुनी गतिविधिमा कानुन अनुसार कारवाही हुनेछ ।”
सरकारले जेन–जी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो। उक्त आयोग असोज ९ गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ । आयोगले प्रतिवेदन बुझाएपछि मात्र सरकार कानुन बमोजिम निर्णय गर्नेछ ।