वीरगंजको दशैं मेलामा मङ्गलवार राति भएको कुटपिट तथा हत्याकाण्डमा संलग्न पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगंज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) को हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको हो ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
प्रहरीका अनुसार पुरानो रिसइवी, प्रतिशोध र आफूलाई ‘ग्याङ्स्टर’का रूपमा प्रस्तुत गर्ने उद्देश्यले पक्राउ परेकाहरूले ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाई योजनाबद्ध ढंगले गोल्डेनमाथि बाँसको भाटाले आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका गोल्डेनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।
पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।