काठमाडौँ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएसँगै मनसुन कमजोर हुँदै गएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा वर्षा गराउने न्यून चापीय मौसम प्रणाली बाहिरिएको र मनसुन कमजोर भएको जनाइएको छ । मौसममा सुधार भए पनि मनसुन पूर्ण रूपमा बाहिरिएको छैन। त्यसैले हालको अवस्थामा मौसम र सम्भावित बाढीको अवस्थाको नियमित अनुगमन जारी रहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो ।
विभागले वेभसाइट, सामाजिक सञ्जाल, टोल-फ्री सेवा तथा एसएमएसमार्फत अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टामा १८६ वटा केन्द्रमा वर्षा भएको विभागले जनाएको छ ।
हालका तथ्यांकअनुसार बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीमा जलसतहले सतर्कता तह पार गरेको भए पनि घट्दो क्रममा छ ।
आइतबार सप्तकोशी नदीले खतरा तह पार गरेको थियो। सप्तकोशीका सहायक नदी तमोर, सुनकोशी र अरुणमा पनि खतरा तह पार भए पनि हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
त्यसैगरी, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ लगायत चुरे–महाभारत क्षेत्रबाट उद्गम भई बहने नदीमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको विभागले उल्लेख गरेको छ ।