कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गर्दै आएका एक कैदी जेलबाट भागेको करिब तीन सातापछि पुनः सोही आरोपमा पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका २२ वर्षीय ‘पन्छी’ भनिने खिमबहादुर विकलाई जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकेको थियो । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका थिए ।
जेलबाट भागेका विकले असोज ११ गते राति ८ बजे सोही वडाका ५३ वर्षीय एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार उनी दुई जनासहित आक्रमणमा संलग्न थिए । आक्रमणबाट पीडित गम्भीर घाइते भएका थिए ।
पीडितले असोज १५ गते खिमबहादुर र उनका साथीसँगैका विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएपछि प्रहरीले घोराही अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी थालेको थियो ।
पक्राउ पुर्जी जारी भएको केही दिनपछि प्रहरीले शनिबार बेलुकी दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा खिमबहादुर विकलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक मगरका अनुसार पक्राउ परेका विक र उनका साथीसँग सम्बन्धित घटनाबारे थप अनुसन्धान जारी छ ।