हालैको अविरल वर्षाबाट उत्पन्न बाढी र पहिरोका कारण घरबार गुमाएका परिवारका लागि सरकारले तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले स्थानीय तहको समन्वयमा लाभग्राहीको पहिचान गरी अस्थायी आवास निर्माणका लागि पठाउन निर्देशन दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार लाभग्राहीको पहिचान भएपछि अस्थायी आवास निर्माण अनुदान मापदण्ड बमोजिम पहिलो किस्ता तत्काल उपलब्ध गराइनेछ ।
बैठकले तीनै तहका सरकारबीचको राहत वितरणलाई समन्वयपूर्वक दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत वितरण गर्ने निर्णय पनि गरेको छ । साथै, मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम राहत उपलब्ध गराउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ भने घाइतेहरूको निशुल्क उपचारको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।
त्यस्तै, विपद्पश्चात फैलिन सक्ने महामारी र रोगको जोखिमलाई ध्यानमा राख्दै, खानेपानी मन्त्रालयले स्वच्छ पानीको आपूर्ति सुनिश्चित गर्ने र स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्श कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
प्राधिकरणका प्रमुख भट्टका अनुसार, हालसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण ५२ जनाको मृत्यु, ५ जना बेपत्ता र ४७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार सरकारको पहलमा निशुल्क रूपमा भइरहेको उनले जानकारी दिएका छन् ।
भिडियाे सामाग्री