सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित दुर्गा मन्दिर परिसरमा सञ्चालन भइरहेको दुर्गा पूजा मेला महोत्सवमा अश्लिल कार्यक्रम, ठगी र अव्यवस्थाको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, सप्तरीले मेला बन्द गराएको छ ।
मेला सुरु हुँदा जिल्ला प्रशासनले तोकेका शर्तहरू उल्लङ्घन भएको भन्दै प्रशासनले शुक्रबार रातिदेखि सम्पूर्ण गीत–सङ्गीत तथा मनोरञ्जनात्मक कार्यक्रम रोक्न आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार आयोजक समितिलाई पत्र लेख्दै भनिएको छ, “बोदेबर्साइन–५ स्थित दुर्गा मन्दिर समितिद्वारा आयोजित महोत्सव तोकिएको शर्त विपरीत सञ्चालन भएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको र पूजा बिसर्जन भइसकेको हुनाले शान्ति सुरक्षामा खलल पुग्ने सम्भावना रहेकोले आजैदेखि कार्यक्रम बन्द गरिदिन अनुरोध छ।”
यसअघि, जेनजी सप्तरीका प्रतिनिधि र स्थानीयवासीहरूले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै मेलामा अश्लिलता, भीड व्यवस्थापनमा कमजोरी, टिकटमार्फत ठगी, र स्वयंसेवकहरूले भक्तजनमाथि कुटपिट गरेको आरोप लगाएका थिए । ज्ञापनपत्रमा भनिएको छ, “माँ जगदम्बा भवानीको प्रतिमा बिसर्जन भइसकेको हुँदा मेलाको नाममा विकृति फैलाउने कार्य रोक्न जरुरी छ।”
प्रशासनले बोदेबर्साइन नगरपालिकाको सिफारिसमा असोज १२ देखि असोज २७ सम्मका लागि मेलाको सुरक्षासम्बन्धी अनुमति दिएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत युगेशकुमार यादवको हस्ताक्षर रहेको सो पत्रमा १० बुँदे शर्त तोकिएका थिए । तीमध्ये मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्ने, जुवाजन्य खेल र मादक पदार्थ निषेध गर्ने, अश्लिल कार्यक्रम नगर्ने, स्वयंसेवकमार्फत सुरक्षाको व्यवस्था मिलाउने र कार्यक्रमको लेखा–जोखा सात दिनभित्र बुझाउने उल्लेख थियो ।
तर ती शर्तहरूको उल्लङ्घन भएको प्रमाणसहित गुनासो आएपछि प्रशासन, प्रहरी र स्थानीय तहबीचको समन्वयमा मेला स्थगित गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरी, र बोदेबर्साइन नगरपालिकालाई पनि जानकारी गराएको छ ।