सप्तरी । अग्नीसाइर कृष्णा सवरण गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूले तलब–भत्ताको माग गर्दै मङ्गलबार गाउँपालिका तथा वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन् ।
आइतबारदेखि आन्दोलित रहेका उनीहरूले आज गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, विभिन्न शाखा र कार्यालयको मूल गेटसहित ६ वटै वडा कार्यालयमा तालाबन्दी गरी पालिकाको मुख्य गेटमै धर्ना बसेका हुन् ।
कार्यालयहरूमा तालाबन्दी भएपछि गाउँपालिकाको सेवा पूर्णरूपमा प्रभावित भएको छ। सेवाग्राहीहरू मारमा परेका छन् ।
माध्यमिक विद्यालय जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डलका अनुसार पटक–पटक ध्यानाकर्षण गराए पनि तलब–भत्ता उपलब्ध नगराइएपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको हो ।
उनी भन्छन्, “तलब पाउने सुनिश्चित नभएसम्म तालाबन्दी र हाम्रो आन्दोलन जारी रहनेछ ।”
प्रधानाध्यापक मण्डलले तिहारसम्म पनि तलब–भत्ता उपलब्ध नभए छठपछि अत्यावश्यक सेवा बाहेक गाउँपालिकाका मातहतका विद्यालय, स्वास्थ्य संस्था र कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिए ।
आन्दोलित शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरूले आइतबार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन सुरु गरेका थिए ।