काठमाडौं | नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा भएको बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए । बैठकले ७० वर्षभन्दा माथिका नागरिकलाई सङ्घीय सरकारले तोकेको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट दिने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिए ।
बैठक अनुसार ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। फरक क्षमता भएका यात्रुहरूका लागि कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गरिएको छ ।
महानिर्देशक अधिकारीका अनुसार, यो निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास गरिएको छ। सम्बन्धित सबै आन्तरिक वायुसेवा कम्पनीलाई उक्त निर्णय तत्काल लागू गर्न निर्देशन दिइएको छ ।
विशेषगरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि यो निर्णय प्रभावकारी हुने अधिकारीले विश्वास व्यक्त गरे। उनले थपे, “नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ ।”