बारा | बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डस्ट्रीज (चिनी मिल) ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै स्थानीय युवाहरूले आइतबार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
कलैया उपमहानगरपालिका–१० मनगढवा, फेटा गाउँपालिका–१ अकवनिया र भलुही, तथा प्रसौनी गाउँपालिका–३ गोइठीका युवाहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
युवाहरूका अनुसार, बाराको श्रीपुर मनहर्वास्थित रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने फोहोर र रसायनयुक्त पानी सिधै बंगरी नदीमा मिसाउने गरेको छ । यसले नदी अत्यधिक प्रदूषित बनेको छ भने आसपासका गाउँहरूमा दुर्गन्ध फैलिनुका साथै विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।
नदी प्रदूषणको असर ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणीलगायत करिब ५० भन्दा बढी गाउँमा परेको युवाहरूले बताएका छन् ।
छठ पर्वको समयमा श्रद्धालु भक्तजनहरूले यही प्रदूषित नदीमै अर्घ दिने बाध्यता उत्पन्न भएको भन्दै उनीहरूले तुरुन्तै प्रदूषण रोक्न माग गरेका छन्। फेटा–१ का मनिष कुशवाहाका अनुसार, “यो समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय हो। त्यसैले हामीले प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई नदी प्रदूषण रोक्न गुहारेका हौं,” उनले भने ।
ज्ञापनपत्रमा भनिएको छ — नेपाल संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन, २०७६, त्यस अन्तर्गतको नियमावली २०७७, र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले हानिकारक फोहोर वा रसायनयुक्त पानी नदीमा बगाउन निषेध गरेको छ। तसर्थ, जिल्ला प्रशासन कार्यालयले तत्काल आवश्यक कदम चाल्नुपर्ने युवाहरूको माग छ ।
युवाहरूले चेतावनी दिएका छन् कि यदि स्थानीय प्रशासनले मागलाई बेवास्ता गर्यो भने शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरी सडकमा उत्रनेछन् ।