काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
तिहारको अवसरमा सोमबार एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको हो ।
राष्ट्रपति पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै विविध चाडपर्वहरूले देशको एकता र सहअस्तित्वलाई मजबुत बनाउने कार्य गर्दै आएको बताउनुभयो । उहाँका अनुसार, “तिहार हिन्दूहरूको महान् पर्वका रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषा र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ,” राष्ट्रपतिले भन्नुभएको छ ।
सन्देशमा उहाँले तिहार पर्व सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले उज्यालो र प्रकाशको पर्वका रूपमा तिहारले सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा सबैलाई अघि बढ्न प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ ।
तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु र पर्वत आदिको सम्मान गरी पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको दिनमा भगवती लक्ष्मीको आराधना गरिन्छ भने भाइटीकाका दिनमा दिदीबहिनी र दाजुभाइबीच आपसी सद्भावका साथ टीका–माला र उपहार आदान–प्रदान गरी पर्व मनाइन्छ ।
राष्ट्रपति पौडेलले भाइटीका, म्हपूजा र आत्मशुद्धि जस्ता सांस्कृतिक अभ्यासहरूले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया, करुणा र अन्धकारमाथि प्रकाशको विजयका सन्देशहरू प्रवाह गर्ने उल्लेख गर्नुभएको छ ।