पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् ।
बिहीबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर त्यसको वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
प्रचण्डले सरकारले संसदीय दलहरूसँग गरेको पछिल्लो वार्ताले सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको संकेत गरे पनि अझै पूर्ण वातावरण नबनिसकेको बताए। उनले अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछि माओवादी केन्द्र पहिलो पार्टीका रूपमा निर्वाचनमै केन्द्रित हुने निर्णय गरेको स्मरण गराए ।
जेएनजी आन्दोलनपछि सार्वजनिक अपिल जारी गर्ने र काठमाडौं उपत्यकाबाहिर मधेस प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने पनि माओवादी केन्द्र नै पहिलो भएको दाबी उनले गरे ।
वामपन्थी एकता र ध्रुवीकरणबारे कुरा गर्दै प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरू एकता प्रक्रियातर्फ अघि बढिरहेको बताए । उनले छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने विश्वास व्यक्त गरे ।