आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज देशभर खरना विधि हर्षोल्लासपूर्वक मनाइँदै छ ।
आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझ चामल, दूध र सक्खर मिसाएर तयार गरिएको खीर पकाई सूर्यदेवलाई अर्पण गरेपछि प्रसादस्वरूप ग्रहण गर्दै खरना मनाउने गर्छन् । यो खीर परिवारका सबै सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र परिवारको सुख–समृद्धिको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु गरिएको थियो । सो दिन ब्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गरेर आगामी उपवासको तयारी गर्छन् ।
भोलि सोमबार छठ पर्वको तेस्रो तथा मुख्य दिन सन्ध्या अर्घ्यका रूपमा ब्रतालुहरूले नदी, पोखरी वा अन्य जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत रूपमा सम्पन्न हुनेछ । छठ पर्वमा बाँसका डालो, डगरी, माटोका कोसिया, हाँडी, कुरबार लगायत सामग्री चढाउने चलन छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र फलफूल अर्पण गरिन्छ ।
अर्घ्य दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा छ । सबै परिकार र विधिहरू पूर्ण शुद्धता, अनुशासन र निष्ठाका साथ पूरा गर्नुपर्ने भएकाले छठलाई अत्यन्त पवित्र र कठोर व्रतका रूपमा मानिन्छ ।