तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः सुरु भएको छ ।
माथिबाट ढुंगा खस्दा केही समयका लागि सडक अवरुद्ध भएको थियो । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी सडक खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार तुइन खोला क्षेत्र पहिरोको उच्च जोखिममा रहेकोले यात्रु र सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । “सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्,” डिभिजन कार्यालयले भनेको छ, “अविरल वर्षाका कारण पुनः ढुंगा खस्ने वा पहिरो आउन सक्ने जोखिम कायमै छ ।”
मुग्लिन–नारायणगढ सडकखण्ड देशको प्रमुख व्यापारिक मार्ग भएकाले यस खण्डमा सानो अवरोधले पनि आवागमन र आपूर्ति प्रणालीमा असर पर्ने गरेको छ ।