बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा देखिएको वर्षा र बदलीको अवस्था आज साँझदेखि क्रमिक रूपमा सुधार हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको सूचना अनुसार आज बेलुकीपछि क्रमशः मौसम खुल्नेछ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना यथावत् रहेकाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने तथा बाँकी प्रदेशहरूमा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि बताइएको छ ।
त्यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्ने र केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, किसान, यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।