काठमाडौँ । रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासन प्रणालीको एजेण्डा अघि सारेको छ ।
दल दर्ताको निवेदन दिइसकेपछि बसेको पार्टीको पहिलो बैठकले यो एजेण्डा प्रस्तुत गरेको पार्टीका अध्यक्ष कबिर सोबले जानकारी दिएका छन् । उनले बताएअनुसार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू भएपछि देशमा स्थिर सरकार रहने र पाँच वर्षसम्म ढुक्कले काम गर्न सकिने वातावरण निर्माण हुने छ ।
त्यसैगरी, पार्टीले प्रत्यक्ष निर्वाचित अन्य पदहरू पनि हुनुपर्ने र त्यसमा समानुपातिक समावेशी सिद्धान्त अनुसार नीति लागू हुनुपर्ने पनि एजेण्डामा समावेश गरेको छ ।
बैठकले रेसम चौधरीलाई पार्टीको संरक्षकको रूपमा रहने निर्णय पनि गरेको छ । हाल पार्टीको वरिष्ठ उपाध्यक्षमा अब्दुल खान, महासचिवमा डा. उमाशंकर प्रसाद चौधरी रहेका छन्। कोषाध्यक्ष, सचिव र अन्य केन्द्रीय सदस्यहरूको चयन केन्द्रीय कमिटीको आगामी बैठकले टुंगो लगाउने अध्यक्ष सोबले जानकारी दिएका छन् ।